‘साम्बा’ न्युजिल्यान्डको ए लिग क्लब ‘वेलिङटन फिनिक्स’ मा अनुबन्धित

‘साम्बा’ न्युजिल्यान्डको ए लिग क्लब ‘वेलिङटन फिनिक्स’ मा अनुबन्धित

काठमाडौंः नेपाली महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सबित्रा भण्डारी ‘साम्बा’ले आफ्नो अन्तर्राष्ट्रिय क्लब करियरलाई नयाँ उचाइमा पुर्‍याएकी छिन्। उनी भर्खरै न्युजिल्यान्डको ए–लिग वुमेन्स क्लब वेलिङटन फिनिक्ससँग अनुबन्ध भएकी छिन् ।

भर्खरै मात्र फ्रान्सको टप डिभिजन क्लब एन अभान्ट ग्वेंगाम्पबाट बिदा लिएकी भण्डारीलाई वेलिङटन फिनिक्सले बिहीबार क्लबमार्फत सार्वजनिक गरेको हो। सबित्राले यसअघि भारत र फ्रान्समा क्लब फुटबल खेलेकी थिइन्। यो अनुबन्धसँगै उनको अन्तर्राष्ट्रिय करियरले नयाँ मोड लिएको छ।

क्लबको आधिकारिक मिडियासँग कुरा गर्दै सबित्राले भनिन् ‘म फिनिक्स क्लबमा आउन पाएकोमा निकै उत्साहित छु। धेरै गोल गर्न चाहन्छु र समर्थकहरुलाई खुसी बनाउनेछु।’

नेपाली राष्ट्रिय टोलीका लागि ६० खेलमा ६६ गोल गरिसकेकी भण्डारी दक्षिण एसियाकै सर्वाधिक खतरनाक फरवार्डमध्ये एक मानिन्छिन् । उनको गति, फिनिशिङ क्षमता र गोल गर्ने प्रवृत्तिले उनलाई विशेष बनाएको छ ।

वेलिङटन फिनिक्स अष्ट्रेलिया र न्युजिल्यान्डको संयुक्त शीर्ष महिला फुटबल लिग ‘ए लिग वुमेन्स’ मा प्रतिस्पर्धा गर्ने क्लब हो। सबित्राको आगमनले क्लबको आक्रमण पंक्तिमा थप बल पुग्ने विश्वास गरिएको छ ।

यसैबीच, सामाजिक सञ्जालमार्फत हजारौं नेपाली समर्थकहरूले सबित्रालाई बधाई दिँदै उनको नयाँ यात्रामा सफलताको शुभकामना व्यक्त गरेका छन्। विदेशी लिगमा लगातार प्रभावशाली उपस्थिति जनाउँदै आएकी साम्बा विश्व फुटबलमा नेपाली पहिचानको प्रतिनिधित्व गरिरहेकी छन्।