टी-२० विश्वकप छनोटको तयारी: आदिल आलमसहित ३२ खेलाडी प्रारम्भिक प्रशिक्षण टोलीमा

टी-२० विश्वकप छनोटको तयारी: आदिल आलमसहित ३२ खेलाडी प्रारम्भिक प्रशिक्षण टोलीमा

काठमाडौं: आगामी अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको छ। आइतबार जारी सूचीमा करिब तीन वर्षपछि मोहम्मद आदिल आलम पुनः राष्ट्रिय टोलीको तयारीमा फर्किएका छन्।

विगतमा टी-२० लिगमा फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका आदिल पछिल्लो समय प्रतिबन्ध मुक्त भई राम्रो प्रदर्शन गर्दै आएका थिए। आरोप प्रमाणित नभएपछि उनलाई पुनः प्रारम्भिक टोलीमा समावेश गरिएको हो। यसरी उनी लामो समयपछि पुनः राष्ट्रिय रंगीन जर्सी नजिक पुगेका छन्।

यसैगरी यु–१९ टोलीबाट उदाएका युवा खेलाडी युवराज खत्रीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्। तर अभिनास बोहोराले भने यो चरणमा स्थान बनाउन सकेनन्।

नेपालले छनोटअघि अस्ट्रेलिया भ्रमण गर्ने र त्यस क्रममा वेस्ट इण्डिजसँग तीन खेलको टी-२० आई सिरिज खेल्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।

यसपटकको छनोटमा नौ राष्ट्र सहभागी हुनेछन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोलीहरू सुपर सिक्समा पुग्नेछन्। त्यहाँबाट शीर्ष तीनमा पर्ने टोलीले भारत र श्रीलंकामा हुने आगामी वर्षको टी-२० विश्वकपमा स्थान बनाउनेछ।

नेपाल समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्यमा रहेको छ।

प्रारम्भिक नेपाली टोली:
– रोहित पौडेल
– कुशल भुर्तेल
– अनिल शाह
– आसिफ शेख
– भीम शार्की
– लोकेश बम
– कुशल मल्ल
– आरिफ शेख
– सन्दीप जोरा
– बिबेक यादव
– गुलशन झा
– दिपेन्द्र सिंह ऐरी
– पवन सर्राफ
– शेर मल्ल
– रुपेश सिंह
– अर्जुन घर्ती
– युवराज खत्री
– सुभ कंसाकार
– सन्दीप लामिछाने
– ललित नारायण राजवंशी
– शाहब आलम
– सागर ढकाल
– करण केसी
– सोमपाल कामी
– नन्दन यादव
– कमल सिंह ऐरी
– रिजन ढकाल
– प्रतिश जीसी
– आकाश चन्द
– बसीर अहमद
– किरण ठगुन्ना
– मोहम्मद आदिल आलम

टोलीको अन्तिम छनोट अस्ट्रेलिया भ्रमणपछि गर्ने क्यानको तयारी छ। प्रशिक्षण टोलीबाट छनोट गरिने खेलाडीहरू नै ओमान छनोट र त्यसपछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन्।