एनपीएल उद्घाटन खेल: सुदूरपश्चिमको खराब सुरुवात, लुम्बिनीलाई ८८ रनको लक्ष्य

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई जितका लागि ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले १७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रनमा समेटियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए । ओपनर सेफ अलि जैबले १३ रन जोडे भने नवौं नम्बरमा आएका अनिल खरेल १५ रनमा अविजित रहे ।
अन्य ब्याटरहरूले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । आरिफ शेख र स्कट कुगेलेइन शून्य रनमै पेभेलियन फर्किए ।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले चार ओभरमा २८ रन खर्चिएर चार विकेट लिए भने शेर मल्लले चार ओभरमा ११ रन खर्चिएर तीन विकेट हात पारे । कप्तान रोहित पौडेल, तिलक भण्डारी र शेडली भान शाल्कविकले समान १/१ विकेट लिँदै सुदूरपश्चिमलाई सस्तैमा रोक्न महत्त्वपूर्ण योगदान पुर्याए ।
लुम्बिनी अब केही बेरमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रनेछ । यसअघि प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए ।