आईसीसी विश्वकप लिग-२ मा नेपाल विजयी, क्यानडा २४ रनले पराजित

सिमराः आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले क्यानडामाथि २४ रनको उत्कृष्ट जित हात पार्दै विजयी सुरुवात गरेको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३५ रन बनाएको थियो ।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलको शतकीय पारि खेलेका थिए । चौथो नम्बरमा मैदान प्रवेश गरेका पौडेलले एक सय एक रनको शतकीय योगदान दिए। उनले एक सय २७ बलको सामना गर्दै आठ चौका र एक छक्का प्रहार गरे ।
लगातार विकेट पतन भइरहेका बेला आएका रोहितले छैठौं विकेटका लागि गुल्सन झासँग ८२ रनको महत्त्वपूर्ण साझेदारी गरे । गुल्सनले ४८ रन बनाए भने अर्जुन कुमालले २३ र बसिर अहमदले ३० रन जोडे । अन्य ब्याटरमा ओपनर आसिफ शेख चार रन, दीपेन्द्र सिंह ऐरी ६ रनमा समेटिए। कप्तान सन्दीप लामिछानेले अविजित २ रन बनाए ।
क्यानडाका तर्फबाट अखिल कुमारले सर्वाधिक चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद सिरजादले दुई विकेट हात पारे ।
दुई सय ३६ रनको विजय लक्ष्य पछ्याएको क्यानडा दुई सय ११ रनमा अलआउट हुन पुग्यो । क्यानडाका लागि आरोन जोन्सनले सर्वाधिक ४४ रन बनाए भने समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमारले अविजित ३० रन जोडे ।
बलिङतर्फ नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले २/२ विकेट लिए ।
यो जितसँगै नेपाल २६ अंक सहित छैठौं स्थानमा उक्लिएको छ। क्यानडा २५ अंक सहित सातौं स्थानमा छ।