साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै, इतिहास फर्काउने लक्ष्य

ढाका: साफ यु–२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल आज (आइतबार) घरेलु टोली बंगलादेशसँग खेल्दैछ। लिगको यो दोस्रो खेल नेपाली समयअनुसार बेलुका ६:४६ बजे ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।
यो खेल नेपालका लागि निकै चुनौतीपूर्ण मानिएको छ, किनभने बंगलादेश यस प्रतियोगिताको साविक विजेता हो र हालसम्मको फर्ममा पनि बलियो देखिएको छ। सन् २०२३ को यस्तै प्रतियोगितामा नेपालले बंगलादेशसँग लिग चरणमा ३–१ र फाइनलमा ३–० को हार बेहोरेको थियो।
सन् २०२२ यता नेपालले बंगलादेशविरुद्ध सिनियर वा जुनसुकै उमेर समूहको खेल जित्न सकेको छैन। त्यसैले आजको खेल नेपालका लागि पछिल्ला तीन वर्षको हारको इतिहास बदल्ने अवसरसमेत हो।
प्रतिस्पर्धामा सहभागी बंगलादेशको हालको यु–२० टोलीमा सिनियर टिमका अनुभवी खेलाडीहरूको पनि सहभागिता रहेको छ। उसले पहिलो खेलमा श्रीलंकामाथि ९–१ को शानदार जित दर्ता गरेको थियो। उता नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। उक्त खेलमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् भने सेनु परियारले दुई गोल गरेकी थिइन्।
यो प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ, जहाँ लिग चरणको उत्कृष्ट टिमले उपाधि जित्नेछ।
नेपाल टोली:
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर।