अमेरिकामा आयोजित जुनियर ओलम्पिकमा नेपालका सञ्जीव नेपाली बने निर्णायक

काठमाडौंः तेक्वान्दोका अन्तर्राष्ट्रिय मास्टर सञ्जीव नेपालीले संयुक्त राज्य अमेरिकामा आयोजित ‘एएयु तेक्वान्दो टिम ट्रायल्स तथा जुनियर ओलम्पिक गेम्स’ मा निर्णायकको भुमिका निर्वाह गरेका छन् । जुलाई २९ देखि अगस्ट २ सम्म प्रतियोगिता आयोजना गरिएको प्रतियोगितामा मास्टर नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका हुन् ।
अमेच्योर एथलेटिक युनियन (एएयु) द्वारा आयोजित यो प्रतियोगिता अमेरिकाको सबैभन्दा बहु-खेलकुद प्रतियोगिताहरूमध्ये एक हो । जुलाई २७ देखि अगस्ट ८ सम्म सञ्चालित यस बृहत् महोत्सवमा तेक्वान्दोका साथै कराते, जुडो, जिम्न्यास्टिक, कुस्ती, स्विमिङ, ट्र्याक एन्ड फिल्ड र फ्ल्याग फुटबलजस्ता दर्जानौँ विधामा हजारौँ युवा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

सन् १८८८ मा स्थापित एएयुले ‘सबैका लागि खेलकुद, सधैँका लागि’ भन्ने मूल नाराका साथ एक शताब्दीभन्दा बढी समयदेखि एमेच्योर खेलकुदको प्रवर्धन तथा खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको व्यावसायिक क्षमता विकासमा भूमिका खेल्दै आएको छ । एएयु तेक्वान्दो क्यालेन्डरमा टिम ट्रायल्स लाई सर्वोच्च स्तरको प्रतियोगिता मानिन्छ । जहाँबाट स्वर्ण पदक विजेताहरूले अमेरिकाको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् ।
मास्टर नेपालीले यसअघि नै फ्लोरिडाको फोर्ट लाउडरडेलस्थित ब्रोवार्ड काउन्टी कन्भेन्सन सेन्टरमा सम्पन्न एएयु तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा समेत आधिकारिक रेफ्री तथा निर्णायकको भूमिका सम्हालिसकेका कारण यो अवसर पाएका हुन् । एकै वर्षभित्र एएयुको सबैभन्दा ठूलो राष्ट्रिय च्याम्पियनसिप र सर्वोच्च प्रतिस्पर्धात्मक टिम ट्रायल्स दुवैमा निर्णायकका रूपमा आमन्त्रित हुनुले नेपाली तेक्वान्दो अफिसियलप्रति अन्तर्राष्ट्रिय निकायहरूको उच्च भरोसा र सम्मान रहेको देखिएको छ ।

लामो समयदेखि तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा रेफ्रीका रूपमा क्रियाशील मास्टर नेपालीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता हासिल गरिसकेका छन्। एएयुका प्रमुख दुई च्याम्पियनसिपमा उनको उपस्थितिले विश्वव्यापी तेक्वान्दो समुदायमा नेपाली रेफ्रीहरूको प्राविधिक ज्ञान, अनुशासन र नेतृत्व क्षमता उच्च स्तरको रहेको सन्देश बताइएको छ ।