एएयू राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली रेफ्री र प्रशिक्षकको उच्च प्रशंसा

अमेरिकाः अमेरिकाको फ्लोरिडा राज्यस्थित फोर्ट लाउडरडेलको ब्राउआर्ड काउन्टी कन्भेन्सन सेन्टरमा आयोजित एमेच्योर एथलेटिक युनियन (एएयू) राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ मा नेपाली मूलका तेक्वान्दो प्रशिक्षक तथा निर्णायकहरूले निर्वाह गरेको भूमिका प्रशंसा गरिएको छ ।
जुन २८ देखि जुलाई ४ सम्म आयोजित प्रतियोगितामा नेपाली तेक्वान्दो जगतका स्थापित मास्टर कुमार कार्की, मास्टर गोपाल भण्डारी, मास्टर संजिव नेपाली, मास्टर विकास गुरुङ तथा सागर गुभाजु लगायतले निर्णायक (रेफ्री) तथा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।
प्रतियोगितामा अमेरिकाभरिबाट सयौं खेलाडी, प्रशिक्षक र निर्णायकहरूको सहभागिता रहेको थियो । आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन भएको प्रतियोगितामा नेपाली मूलका रेफ्रीहरूले प्रदर्शन गरेको व्यावसायिकता, निष्पक्ष निर्णय क्षमता र खेल अनुशासनको अमेरिकी खेलकुद अधिकारीहरू तथा एएयू समितिले प्रशंसा गरेका थिए ।
प्रतियोगितामा निर्णायकहरूको भूमिकासँगै नेपाली मूलका दक्ष प्रशिक्षक र प्रतिभाशाली युवा खेलाडीहरूले पनि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए । अमेरिकाका विभिन्न राज्यबाट सहभागी नेपाली टोलीहरूले राष्ट्रिय स्तरको यस प्रतिष्ठित प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै नेपाली तेक्वान्दोको सशक्त उपस्थिति प्रमाणित गरेका छन् ।

प्रतियोगिताका क्रममा वरिष्ठ प्रशिक्षकहरूले नयाँ पुस्ताका नेपाली–अमेरिकी खेलाडीहरूलाई मार्गदर्शन, प्रेरणा र प्रोत्साहन प्रदान गरेका थिए । विशेषगरी मास्टर कार्कीलगायतका अग्रज प्रशिक्षकहरूको नेतृत्वले युवा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ ।
अमेरिकाको प्रतिष्ठित राष्ट्रिय खेल प्रतियोगितामध्ये एक मानिने एएयू राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली मूलका रेफ्री, प्रशिक्षक तथा खेलाडीहरूको सक्रिय सहभागिता र सफल प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली तेक्वान्दोको पहिचान थप मजबुत बनेको विश्वास गरिएको छ ।
