फिफाद्वारा एन्फा पहिलो पटक निलम्बित

फिफाद्वारा एन्फा पहिलो पटक निलम्बित

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लागू हुने गरी निलम्बन गरेको छ । फिफाले बिहीबार जारी गरेको विज्ञप्तिमा फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ अन्तर्गत तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै उक्त निर्णय गरिएको जनाएको छ ।

फिफाका अनुसार एन्फाको आन्तरिक व्यवस्थापन र निर्वाचन प्रक्रियामा बाह्य हस्तक्षेप भएको निष्कर्ष निकालिएको हो । केही दिनअघि फिफाले अर्को निर्वाचन सम्पन्न नहुँदासम्म हालको कार्यसमितिलाई निरन्तरता दिन निर्देशन दिएको थियो । एन्फा कार्यसमितिको कार्यकाल असार ६ गते सकिएको थियो ।

एन्फा र सरकारबीचको विवाद गत वर्ष चैत १३ गते प्रस्तावित केन्द्रीय निर्वाचनको विषयबाट सुरु भएको थियो । तहगत निर्वाचन सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटक-पटक निर्देशन दिए पनि त्यसको पालना नभएको भन्दै राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको भए पनि त्यसबारे विवाद कायम रह्यो । एन्फा नेतृत्वले निशर्त निलम्बन फुकुवा भएको दाबी गरेको थियो । यसबीच विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएएपछि विवाद थप सतहमा आयो । अध्यक्षसहित पदाधिकारी, सदस्य र कर्मचारी गरी २४ जनालाई राखेपको सिफारिसमा विदेश जान रोक लगाइएको थियो ।

सरकार स्वयम् पनि एन्फासम्बन्धी विवाद समाधान प्रक्रियामा संलग्न भए पनि ठोस निष्कर्ष निकाल्न नसक्दा फिफाले हस्तक्षेपको कारण देखाउँदै एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

फिफाको निलम्बनसँगै नेपालले अब अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैन । साथै फिफाबाट मान्यता प्राप्त नेपाली रेफ्रीहरूले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न नपाउने भएका छन् ।

सन् १९५१ मा स्थापना भएको एन्फा सन् १९७२ मा फिफाको सदस्य बनेको थियो। पाँच दशकभन्दा लामो इतिहासमा एन्फा पहिलो पटक फिफाको निलम्बनमा परेको हो । यो घटनालाई नेपाली फुटबल इतिहासकै एक गम्भीर र कालो दिनका रूपमा हेरिएको छ ।