आर्मीलाई तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि

वीरगन्जः विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि तेस्रो पटक जितेको छ। शुक्रबार वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै आर्मीले उपाधि आफ्नो नाममा लेखाएको हो।
सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। आर्मीको जितमा इमरान शेख र बसिर अहमदले उत्कृष्ट प्रदर्शन गरे। ५६ रनमै चार विकेट गुमाएर दबाबमा परेको आर्मीको इनिङ्सलाई यी दुई ब्याटरले सम्हाल्दै जिततर्फ डोर्याएका थिए। इमरानले अविजित ४६ रन बनाए भने बसिरले ४५ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनमा सीमित भयो। टोलीका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए। किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन जोड्दा अन्य ब्याटर प्रभावहीन रहे।
सुदूरपश्चिमको सुरुआत निकै कमजोर रह्यो। ३१ रनमै पाँच विकेट गुमाएपछि टोली दबाबमा परेको थियो। सुरुआती पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा फाइनलजस्तो महत्वपूर्ण खेलमा टोली निरिह देखियो। कप्तान शेर मल्ल मात्र १ रनमै आउट भए।
बलिङतर्फ आर्मीका आकाश चन्द र साहब आलमले समान तीन/तीन विकेट लिएर सुदूरपश्चिमलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका खेले। बसिर अहमदले दुई विकेट लिए भने कुशल मल्लले एक विकेट हात पारे।
आर्मीले यसअघि पनि पहिलो र चौथो संस्करणको उपाधि जितेको थियो। पहिलो संस्करणमा वर्षाका कारण फाइनल खेल अवरुद्ध भएपछि आर्मी र पुलिस संयुक्त विजेता घोषित भएका थिए।