नेपाल स्ट्रिट प्रिमियर लिग असोज १५ गतेदेखि हुने

नेपाल स्ट्रिट प्रिमियर लिग असोज १५ गतेदेखि हुने

सिमराः डिजिआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपालको पहिलो टी-१० फर्म्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने भएको छ।

काठमाडौंमा सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै एनएसपिएलका अध्यक्ष ज्ञानु सिंहले असोज १५ देखि २४ गतेसम्म मुलपानी क्रिकेट मैदानमा लिग सञ्चालन हुने बताए।

प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ भने कुल २४ खेल हुनेछन् । लिग सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार प्रत्येक टिमले एकअर्काविरुद्ध एक–एक खेल खेल्नेछ। लिग तालिकाको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सहभागिताका लागि टिम खरिद गर्नुपर्ने र खेलाडीको अक्सन प्रक्रियाबाट छनोट गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गर्नेछ।

अध्यक्ष सिंहका अनुसार लिगको उद्देश्य ‘स्ट्रिटदेखि स्टेडियमसम्म’ को नारालाई सार्थक बनाउँदै उदीयमान क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नु हो। उनले लिगले नेपालको ग्रासरुट क्रिकेटलाई प्रवर्द्धन गर्दै समावेशी र बलियो प्लेटफर्म निर्माण गर्ने विश्वास व्यक्त गरे।

एनएसपिएलले लोकप्रिय अभिनेता निखिल उप्रेतीलाई प्रतियोगिताको ब्राण्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ।