प्रधानमन्त्री कप क्रिकेट: अनिलको कप्तानीमा मधेसको टोली घोषणा

प्रधानमन्त्री कप क्रिकेट: अनिलको कप्तानीमा मधेसको टोली घोषणा

सिमराः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश क्रिकेट संघले बिहीबार १५ सदस्यीय टोली घोषणा गरेको छ । संघले राष्ट्रिय खेलाडी अनिल साहको कप्तानीमा टोली घोषणा गरेको हो ।

टोलीमा पवन सर्राफ, रुपेश सिंह, आदिल अंसारी, रञ्जित कुमार, अरनिको यादव, महमद समीर, निरज यादव, अभिशेक तिवारी, बिशाल पटेल, हिमांशु दत्त, मयन यादव, बिशाल सुस्लिङ, आशिक बैठा र प्रदीप पासवान रहेका छन् ।

बारा, पर्सा र सप्तरीमा तीन चरणमा भएको छनौट प्रतियोगिताबाट १५ सदस्यीय टोली घोषणा भएको मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए । टोलीमा बाराका पाँच, धनुषाका तीन, पर्साका दुई, सिरहाका दुई, महोत्तरी, सर्लाही र रौतहटका एक–एक खेलाडी परेका छन् ।

प्रधानमन्त्री कप चैत ७ गतेदेखि मधेस प्रदेशका रंगशालाबाट सुरु हुँदैछन् । प्रतियोगिताको उद्घाटन जनकपुरस्थित रामजानकी रंगशालामा हुनेछ । उद्घाटन खेलमा कोशी र मधेश प्रदेश भिड्दैछन् भने सोही दिन वीरगन्जस्थित नारायणी रंगशालामा लुम्बिनी र कर्णालबीच खेल हुनेछ ।

प्रतियोगिताको फाइनलसहित १९ वटा खेल वीरगन्जमा र १७ वटा खेल जनकपुरमा हुनेछन् भने बाँकी १० वटा खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आईसीसी विश्वकप लिग २ का को तयारीका लागि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री कपको कुनै पनि खेल हुने छैन । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि रंगशालामा तय भएका सबै खेल मुलपानी रंगशालामा सारेको छ ।

झण्डै एक महिनासम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । साविक विजेता नेपाल पुलिससहित त्रिभुवन आर्मी, नेपाल एपीएफ, मधेश, बागमती, लुम्बिनी, गण्डकी, कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।