भियतनामसंग पराजित हुँदै नेपाल एएफसी एसियन कपबाट बाहिर

काठमाडौं: एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा नेपाल भियतनामसंग १-० ले पराजित भएको छ । लगातार चौथो हारसँगै नेपालले आगामी वर्ष साउदी अरेबियामा हुने एसिया कपमा छनोट हुने सम्भावना पनि गुमाएको छ ।
भियतनामको थोङ नाट स्टेडियममा मंगलबार राति भएको खेलको पाँचौं मिनेटमै नेपालका डिफेन्डर सुमन श्रेष्ठको आत्मघाती गोलका कारण टिम शुरुवाती चरणमै १-० ले पछि परेको थियो । कर्नरबाट आएको बल क्लियर गर्न खोज्दा उनले बल नेटमा पठाए, जुन गोल नै खेलको निर्णायक बन्यो ।
यो हारसँगै नेपाल समूह चरणमै बाहिरिएको छ। समूह ‘एफ’ मा रहेको नेपालले यसअघि मलेसिया, लाओस र भियतनामसँग खेलेका तीनै खेलमा पराजय भोगिसकेको थियो। पहिलो खेलमा मलेसियासँग २-०, दोस्रोमा लाओससँग २-१ र तेस्रोमा भियतनामसँग ३-१ ले पराजित भएको थियो ।
खेलको पहिलो हाफमा नेपालले निकै संघर्ष गर्दै सीमित अवसर पायो। बल पोजिसनमा भियतनाम पूर्ण रूपमा हाबी रह्यो। दोस्रो हाफमा नेपाल केही चलायमान बनेको थियो । खेलको ५३ औं मिनेटमा प्राप्त फ्रिकिक र ५७औं मिनेटमा जिलेस्पी जंग कार्कीको क्रस अवसर गोलमा परिणत गर्न नसक्दा नेपाल बराबरीमा फर्कन असफल भयो ।
भारी वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो। मैदान चिप्लो भएकाले दुवै टिमका खेलाडीले बल नियन्त्रणमा कठिनाइ बेहोरेका थिए ।
लाओस, मलेसिया र भियतनामसहित समूह ‘एफ’ मा रहेको नेपालले चारै खेलमा हार बेहोर्दै प्रतियोगिता यात्रा समाप्त गरेको छ।