एएफसी एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन

एएफसी एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन

काठमाडौं: प्रशिक्षक म्याट रोसले आगामी एएफसी एसियन कप छनोटमा भियतनामविरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्। घोषित टोलीमा ६ खेलाडीले पुनरागमन गरेका छन्।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका क्रममा यू–२३ टोलीमा रहेका आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन यसपटक पुनः राष्ट्रिय टोलीमा फर्किएका छन्। त्यस्तै चोटमुक्त भएपछि सनिश श्रेष्ठ र विमल पाण्डे पनि टोलीमा फर्किएका छन्। गोलरक्षक विशाल सुनार पनि यसपटकको टोलीमा समावेश भएका छन्।

यता बंगलादेशविरुद्धको खेलमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दिप पौडेल, समिर तामाङ, सृजनराज गौतम र गोलकिपर टिकेन्द्र थापा भने यसपटक टोलीमा परेका छैनन् ।

नेपालले भियतनामसँग असोज २३ र २८ गते (अक्टोबर ९ र १४) दुई खेल खेल्ने कार्यक्रम छ। नेपालले पहिलो खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्ने योजना बनाए पनि रंगशाला अझै मापदण्डअनुसार तयार नभएकाले दुवै खेल भियतनाममै खेलिने भएका छन्।

एसियन कप छनोटको तयारीस्वरूप नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय गरेको थियो। तर पहिलो खेल बराबरीमा सकिएपछि दोस्रो खेल मौसम र व्यवस्थापकीय कारण रद्द भएको थियो।

घोषित नेपाली राष्ट्रिय टोलीमा रहेका खेलाडीहरू:
किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेम्जन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बू, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ।