टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाली टोली घोषणा गरेको छ। शुक्रबार १५ सदस्यीय टोली सार्वजनिक गर्दै क्यानका प्रवक्ता छुम्बी लामाले रोहित कुमार पौडेललाई कप्तान तोकिएको जानकारी दिए।
घोषित टोलीमा उपकप्तानका रूपमा दीपेन्द्र ऐरी रहेका छन्। त्यस्तै कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी टोलीमा परेका छन्।
आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुने यो प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी हुनेछन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित भएका छन्।
नेपाल समूह ‘२’ मा परेको छ र समूह चरणमा कुवेत तथा जापानसँग प्रतिस्पर्धा गर्नेछ।