रोहितले दिलाए नेपाललाई पहिलो सफलता

रोहितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं: कप्तान रोहित पौडेलले हर्बट हुरिकेन्सविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् । अष्ट्रेलियाको पामस्र्टनस्थित काजालिस मैदानमा जारी टप एण्ड टी-२० सिरिजको चौथो खेलमा रोहितले पहिलो ओभरमै विकेट लिएका हुन् ।

रोहितले निभाथन राधाकृष्णनलाई शूण्यको स्थितिमा आउट गरेका हुन् । हर्बट हुरिकेन्सले तीन ओभरमा एक विकेट गुमाउँदै ६ रन जोडेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सात विकेट गुमाउँदै एक सय ८० रन जोडेको थियो । नेपालका लागि मिडअर्डर ब्याटर आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका थिए । उनले २६ बलमा ३ चौका प्रहार गर्दै लोकेश बमसँग छैटौं विकेटका लागि ३८ रनको साझेदारी गरे ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा २७ रन बनाए । अर्का ओपनर आसिफ शेख २७ बलमा २९ रन जोडे । भिम सार्की १८ रनमा बोल्ड भए भने कप्तान रोहित पौडेल ९ रनमा एलबीडब्ल्यू आउट भए । कुशल मल्ल ६ रनमा क्याच आउट भए भने करण केसी खाता खोल्ने वित्तिकै पेभेलियन फर्किए । लोकेश बमले २५ रन जोडे । नन्दन यादव १ रनमा अविजित रहे ।
हुरिकेन्सका लागि निभाथन राधाकृष्णन र राफेल म्याकमुलेनले समान २–२ विकेट लिए भने मार्कस विन्स, ब्राडले होप र गार्बेल बेलले १–१ विकेट हात पारे ।

जारी सिरिजमा नेपालले यो चौथो खेल खेलिरहेको छ । यसअघिको तीन वटै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ संग ३२ रनले हारेको थियो । यसैगरी तेस्रो खेलमा मेलर्वन स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।