टप एण्ड टी–२० सिरिज : नेपालले हर्बट हुरिकेन्सलाई १८१ रनको लक्ष्य दियो

काठमाडौं: अष्ट्रेलियाको पामस्र्टनस्थित काजालिस मैदानमा जारी टप एण्ड टी–२० सिरिजको चौथो खेलमा नेपालले हर्बट हुरिकेन्सलाई १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनायो। मिडअर्डर ब्याटर आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। उनले २६ बलमा ३ चौका प्रहार गर्दै लोकेश बमसँग छैटौं विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा २७ रन बनाएर आउट भए। जीवनदान पाए पनि लामो समय टिक्न सकेनन्। अर्का ओपनर आसिफ शेख २७ बलमा २९ रनमा क्याच आउट भए। भिम सार्की १८ रनमा बोल्ड भए भने कप्तान रोहित पौडेल ९ रनमा एलबीडब्ल्यू आउट भए।
त्यस्तै कुशल मल्ल ६ रनमा क्याच आउट भए भने करण केसी खाता खोल्ने वित्तिकै पेभेलियन फर्किए। अन्तिमतिर लोकेश बमले २५ रन जोडे। नन्दन यादव १ रनमा अविजित रहे।
हुरिकेन्सका लागि निभाथन राधाकृष्णन र राफेल म्याकमुलेनले समान २–२ विकेट लिए भने मार्कस विन्स, ब्राडले होप र गार्बेल बेलले १–१ विकेट हात पारे।
यसअघि नेपाल पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रन र तेस्रो खेलमा मेलर्वन स्टार्ससँग ३१ रनले पराजित भएको थियो। नेपाल चौथो खेलमार्फत सिरिजमा पहिलो जितको खोजीमा रहेको छ।