नेपाल महिला फुटबल टिमको ऐतिहासिक फिफा वरीयता सुधार, ८७औं स्थानमा उक्लियो

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टिमले फिफा वरीयतामा ऐतिहासिक छलाङ मारेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता सूचीअनुसार नेपालले १३ स्थान उक्लिँदै ८७औं स्थान हासिल गरेको छ।
यो अहिलेसम्म नेपालको महिला फुटबल टिमले फिफा वरीयतामा प्राप्त गरेको सबैभन्दा उत्कृष्ट स्थान हो। यसअघि सन् २०१९ मा नेपाल ९९औं स्थानसम्म पुगेको थियो भने पछिल्लो समय १००औं स्थानमा थियो।
हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटको प्रदर्शनका आधारमा नेपालको वरीयता उक्लिएको हो। छनोट प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग ३-३ को रोमाञ्चक बराबरी खेलेको थियो, जसपछि टाईब्रेकरमा पराजित भएको थियो।
नेपाल मात्र होइन, दक्षिण एसियाका पाँच देशका महिला टिमले समेत यसपटक फिफा वरीयतामा सुधार गरेका छन्।
दक्षिण एशियाका अन्य टिमको स्थिति
- भारत: ७ स्थान उक्लिँदै ६३औं स्थानमा
- बंगलादेश: सबैभन्दा ठूलो छलाङ, २४ स्थान सुधार गर्दै १०४औं स्थानमा
- पाकिस्तान: ३ स्थान सुधार गर्दै १५४औं स्थानमा
- भुटान: ८ स्थान सुधार गर्दै १६३औं स्थानमा
- श्रीलंका: २ स्थान तल झरेर १६१औं स्थानमा
- माल्दिभ्स: २ स्थान झर्दै १६५औं स्थानमा
शीर्ष ५ राष्ट्र
- स्पेन: १ नम्बरमा
- अमेरिका: २ नम्बरमा
- फ्रान्स: ३ नम्बरमा
- इङ्ग्ल्याण्ड: ४ नम्बरमा
- जर्मनी: ५ नम्बरमा
नेपालको महिला फुटबलको यो उन्नति देशभित्रै फुटबलप्रतिको लगानी, प्रशिक्षण र महिला खेलाडीको निरन्तर मेहनतको नतिजा मानिएको छ। फिफा वरीयतामा आएको यो सुधारले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको मनोबल अझै बढाउने अपेक्षा गरिएको छ।