दोस्रो शनिश्चरे गोल्डकप कात्तिक १५ गतेदेखि आयोजना हुने

दोस्रो शनिश्चरे गोल्डकप कात्तिक १५ गतेदेखि आयोजना हुने

मोरङ: पथरी ११ फुटबल क्लबले दोस्रो शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म आयोजना गर्ने भएको छ। क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति घोषणा गर्नुका साथै गत वर्षको आयव्यय विवरण पनि सार्वजनिक गरेको हो।

पथरी शनिश्चरे नगरपालिका ११ स्थित क्लबको शिखरचोकस्थित कार्यालयमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष सुमन विकले आर्थिक वर्ष २०८०/८१ मा क्लबले १७ लाख ८५ हजार ८ सय ४० रुपैयाँ आम्दानी गरेको र १४ लाख ८१ हजार १ सय ५५ रुपैयाँ खर्च भएको जानकारी दिए। क्लबको खातामा ३ लाखभन्दा बढी मौज्दात रहेको पनि उल्लेख गरिएको छ।

दोस्रो संस्करणको शनिश्चरे गोल्ड कप सफलतापूर्वक सञ्चालन गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप कुमार राई, क्लबका कोषाध्यक्ष अम्बिका लिम्बु, सचिव केशर राई, सूचना संयोजक सन्तोष राई लगायतको उपस्थिति थियो।

क्लबले स्थानीयस्तरमा फुटबलको विकास, युवा प्रतिभाको पहिचान र प्रवर्द्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।