‘फुटबल फर स्कुल्स’ शुभारम्भ

‘फुटबल फर स्कुल्स’ शुभारम्भ

देशभर ६ लाख बालबालिकालाई फुटबलमा पहुँच पुर्‍याउने लक्ष्य

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले फिफाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री ओलीले कोस्तुभ एकेडेमीका शिक्षक तथा विद्यार्थीलाई बल हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरे।

फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यस कार्यक्रमलाई नेपालमा पहिलोपटक लागू गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले यो अभियान नेपाली फुटबलको विकासका लागि महत्वपूर्ण अवसर भएको बताए। ‘यो कार्यक्रममार्फत देशभरका हजारभन्दा बढी विद्यालयमा बल पुग्नेछ र अभ्यासका लागि सहज वातावरण तयार हुनेछ’ उनले भने ‘यसले भावी खेलाडी उत्पादनमा उल्लेखनीय टेवा पुर्‍याउनेछ।’

प्रधानमन्त्री ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माण गर्ने योजना पुनः दोहोर्‍याउँदै दशरथ रंगशालाको स्तरोन्नति र मर्मत आवश्यक रहेको धारणा पनि राखे।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङका अनुसार कार्यक्रमलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा अघि बढाइएको हो। उनका अनुसार एन्फाले हालसम्म ७७ वटै जिल्लाका १ हजार ७२ भन्दा बढी विद्यालयमा ३२ हजार ६४० बल वितरण गर्ने तयारी गरेको छ।

कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका करिब ६ लाख विद्यार्थीलाई लक्षित गर्दै फुटबलप्रति अभिरुचि बढाउने र उनीहरूलाई प्रारम्भिक स्तरको प्रशिक्षणमा संलग्न गराउने उद्देश्य लिएको छ।

विश्वका थुप्रै देशमा सञ्चालन भइसकेको यो अन्तर्राष्ट्रिय अभियान अब नेपालमा पनि प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।