भुटान प्रस्थानअघि नेपाली यू-२० महिला टोलीलाई बिदाई

भुटान प्रस्थानअघि नेपाली यू-२० महिला टोलीलाई बिदाई

काठमाडौं: एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न भुटान जान लागेका नेपाली यू-२० महिला फुटबल टोलीलाई बुधबार औपचारिक रुपमा बिदाई गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई लगायतले टोलीलाई शुभकामना दिँदै बिदाई गरेका हुन् ।।

कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अघिल्ला प्रतियोगितामा देखिएका कमजोरीलाई सुधार गर्दै यसपटक उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ‘हामीले आवश्यक तयारी गरेका छौं। खेलाडीहरूको मनोबल उच्च छ। राम्रो नतिजा निकाल्ने विश्वास लिएको छु’ उनले भने।

टोलीकी कप्तान बिर्सना चौधरीले तयारी सकारात्मक भएको बताउँदै नेपालले प्रतिस्पर्धी राष्ट्रहरूसँग राम्रो खेल प्रस्तुत गर्नेमा आशावादी रहेको बताइन्। ‘हामीले कठिन मेहनत गरेका छौं। देशको लागि खेल्न पाउँदा गर्व लाग्छ’ कप्तान चौधरीको भनाइ थियो ।

नेपाली टोलीले आगामी भदौ २३ देखि २८ गतेसम्म भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा भाग लिनेछ। नेपाल समूह बी मा परेको छ, जहाँ उसको प्रतिस्पर्धा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरबसँग हुनेछ।

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले सन् २०२५ मा हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।

नेपाली टोली भुटान प्रस्थान गर्नुअघि आत्मविश्वासका साथ छनोट चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटिरहेको छ।