एएफसी महिला यु-२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, झुमाको ठाउँमा सजिना

काठमाडौं: भुटानमा भदौ २१ देखि २६ गतेसम्म (अगस्ट ६–११) हुने एएफसी महिला यु–२० एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ।
टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्यीय नेपाली महिला यु–२० टोलीको घोषणा गरेका हुन्। टोलीमा बंगलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपको उपविजेता टिमका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ।
तर सो प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेकी झुमा विश्वकर्मा भने यसपटक टोलीमा परेकी छैनन्। उनको स्थानमा प्रशिक्षक गुरुङले सजिना स्याङ्तानलाई मौका दिएका छन्।
नेपाल समूह ‘ए’ मा रहेको छ। जहाँ उसको प्रतिस्पर्धा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरेबियासँग हुनेछ। यसै समूहमा रहेको मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ।
छनोट चरणमा प्रत्येक समूहका शीर्ष टोलीले आगामी वर्ष थाइल्याण्डमा आयोजना हुने एएफसी महिला यु–२० एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। ८ समूह रहेको छनोट चरणमा ३२ राष्ट्र सहभागी छन्। शीर्ष ८ टोलीसँगै उत्कृष्ट ३ उपविजेता टोली पनि थाइल्याण्डमा हुने अन्तिम चरणका लागि छनोट हुनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र भुटानविरुद्ध खेल्नेछ।