बाराले उचाल्यो जीतपुरसिमरा पाचौं हरपुर क्रिकेट कपको उपाधि

सिमराः बारा जिल्ला क्रिकेट संघले ‘जीतपुरसिमरा पाचौं हरपुर क्रिकेट कप’ को उपाधि जितेको छ । जीतपुरसिमरा २४ स्थित हरपुर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा रौतहट क्रिकेट संघलाई ६ विकेटले पराजित गर्दै बाराले उपाधि उचालेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको रौतहटले २० ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो । रौतहटका लागि शैलेन्द्र कुशवाहाले १५ र डब्लु मल्लिकले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बाराका लागि अरनिको यादवले तीन र निखिल सिंहले दुई विकेट लिए ।
७७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाराले १५.२ ओभरमा जित हात पारेको थियो । बाराको जितमा ओपनर साहिल पटेलले २४, निरजकुमार यादवले १९, आदिल अंसारीले १२ रन बनाए ।
बाराका कप्तान अरनिको यादव प्लेयर अफ दि सिरिज र फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । विजेता टोलीले ६० हजार र उपविजेता टोलीले ४० हजार नगद प्राप्त गरेको छ ।