डुरान्ड कपमा त्रिभुवन आर्मीको पहिलो खेल आज, जमशेदपुर एफसीसँग भिड्ने

डुरान्ड कपमा त्रिभुवन आर्मीको पहिलो खेल आज, जमशेदपुर एफसीसँग भिड्ने

सिमराः त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा सुरु भएको डुरान्ड कप फुटबल प्रतियोगितामा आज (बिहीबार) आफ्नो पहिलो खेल खेल्दैछ। समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा आर्मीले भारतीय सुपर लिग क्लब जमशेदपुर एफसीको सामना गर्न लागेको हो।

खेल भारतको झारखण्डस्थित जेआरडी स्पोर्टस कम्प्लेक्स जमशेदपुरमा साँझ ५ बजे सुरु हुनेछ। दुवै टिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेका हुन् ।

नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी मेघराज केसीको प्रशिक्षणमा रहेको त्रिभुवन आर्मीले आगामी खेल साउन १७ गते (शनिबार) लडखा एफसीसँग खेल्नेछ। त्यसपछि आर्मीले समूह चरणको अन्तिम खेल साउन २० गते इण्डियन आर्मी फुटबल टिमसँग खेल्ने तालिका छ।

२४ टोली सहभागी रहेको यस प्रतियोगिताको हरेक समूह विजेता नकआउट चरणमा प्रवेश गर्नेछ। साथै ६ समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई उपविजेता टोलीले पनि क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

डुरान्ड कपका सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्ट्स २ र सोनी लिभ एपमार्फत हेर्न सकिनेछ। नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएको त्रिभुवन आर्मीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।