यु–१७ महिला टोलीको छनोट हेटौंडामा हुँदै

यु–१७ महिला टोलीको छनोट हेटौंडामा हुँदै

हेटौंडा: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यु–१७ महिला फुटबल टोलीको लागि केन्द्रीय स्तरको खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ ।

मकवानपुरको हेटौंडास्थित गौरीटार रंगशालामा आइतवारदेखि सुरु भएको छनोट कार्यक्रममा एन्फामा आवद्ध सातवटै प्रदेश फुटबल संघहरूबाट आएका तीन सय ५० भन्दा बढी खेलाडी सहभागी छन् ।

एन्फाका केन्द्रीय सदस्य टीका लामाका अनुसार छनोट प्रक्रियाबाट ४० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि अन्तिम रुपमा छानिनेछ। ‘जिल्ला र प्रदेश संघमार्फत प्रारम्भिक छनोट गरिएका खेलाडीहरूमध्ये उत्कृष्ट ४० जनालाई अबको बन्द प्रशिक्षणमा समावेश गरिनेछ’ लामाले भने ।

कार्यक्रम आगामी भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिप २०२५ को तयारीस्वरूप आयोजना गरिएको हो । केन्द्रीय छनोट साउन ६ गतेसम्म सञ्चालन हुनेछ। एन्फाका प्राविधिक टोलीले खेलाडीहरूको प्रदर्शन मूल्यांकन गरेर अन्तिम टोली तयार पार्नेछ ।