साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालको गोल वर्षा, भुटान ८–० ले पराजित

ढाका (बंगलादेश): मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा भुटानलाई ८–० को भारी गोल अन्तरले पराजित गरेको छ। यो प्रतियोगितामा नेपालको यो चौथो जित हो।
ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलमा नेपाली टोलीले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्दै भुटानलाई कुनै मौका नै दिएन। मिना देउवा र पूर्णिमा राईले समान तीन–तीन गोल गरे भने समीक्षा मगर र कुसुम खतिवडाले एक–एक गोल थपे ।
नेपालले खेल सुरु भएको ४४औं सेकेन्डमै पहिलो गोल गर्दै अग्रता लिएको थियो। सरिता कुमारी नाथको क्रस क्लियर गर्न नसकेकी भुटानी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै मिनाले पहिलो गोल गरिन्। नवौं मिनेटमा समीक्षाको प्रहार क्रसबारमा लागेर गोलकिपरमा ठोक्किँदै गोलमा परिणत भएको थियो।
१२औं मिनेटमा शुक्रिया मियाको प्रहार रोकिएपछि आएको रिबाउन्डमा मिनाले अर्को गोल गर्दै अग्रता ३–० बनाइन्। त्यसपछि २३औं मिनेटमा मिनाकै पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गरिन्।

पहिलो हाफको इन्जुरी समयमा दुई गोल थपिएको थियो। पहिलो मिनेटमा सरिताको फ्रि–किकमा गोलकिपरले मिस जज गर्दा पूर्णिमाले हेडमार्फत गोल गरिन्। त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा पूर्णिमाले डिफेन्डर छलाउँदै व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पहिलो हाफमा नेपाल ६–० ले अगाडि थियो।
दोस्रो हाफको ६३ औं र ६४ औं मिनेटमा क्रमशः कुसुम खतिवडा र मिना देउवाले गोल गर्दै नेपालको जितलाई ८–० को फराकिलो बनाएका थिए।
यो जितसँगै नेपालले प्रतियोगितामा ५ खेलमा १२ अंक जोडेको छ। नेपालले यसअघि भुटानलाई ६–१, श्रीलंकालाई दुईपटक ७–० ले पराजित गरेको थियो भने आयोजक बंगलादेशसँग ३–२ को हार व्यहोरेको थियो।
अब नेपालले सोमबार बंगलादेशसँग अन्तिम र निर्णायक खेल खेल्नेछ। सो खेलले उपाधिको टुंगो लगाउनेछ। नेपालले श्रीलंका र भुटान दुबैलाई दुई–दुई पटक पराजित गरिसकेको छ।